You are hereमनोक्रान्ति अभियान
मनोक्रान्ति अभियान
मनोक्रान्तिको प्रमुख बाटो भनेको सचेतना र सकारात्मक परिवर्तन हो। मनोक्रान्ति सकारात्मक र अध्यात्मलाई सँगसँगै लिएर अगाडि बढ्छ। मनोक्रान्तिले सबै कुराहरूलाई आत्मसात गर्दै अगाडि बढ्छ। यो व्यवहारिक, कुनै पनि धर्म, समुदायलाई नबोकेको, शुद्ध सेवामुखी अभियान हो। जसले हामीमा स्वास्थ्य, आनन्द, सिर्जशीलता, मानवतावाद, प्रकृतिप्रेम र अध्यात्मजस्ता गुणहरूको विकास गर्नुपर्नेमा जोड दिन्छ।
आफूमा भएको क्षमता र आफुमाथिको विश्वासले हामीमा आध्यात्मिकता, सकारात्मकता र सफलता स्वतः प्राप्त हुन्छ भन्ने कुरा यस अभियानले मान्यता राख्छ।
यस अभियानले नकारात्मक कुराको समाधान खोज्ने होइन त्यसको सदुपयोग गर्नुपर्छ भन्ने कुरालाई हामीमा लागु गर्नुपर्छ भन्छ। प्रत्येक समस्याले ठूलो अवसर लिएर आएको हुन्छ। यदि कसैले त्यो अवसरलाई चिन्न सकेमा कुनै पनि समस्याबाट पीडित हुँदैन बरु त्यही समस्याले उसलाई महान बनाउँछ। हाम्रो दिशालाई गोबर ग्यासमा परिवर्तन गरेर बत्ती बाल्न सकिए झैं जीवन रुपान्तरण गर्ने माध्यमको रुपमा त्यो समस्यालाई प्रयोग गर्न सक्छौं। अहिलेको विश्व मनोवैज्ञानिक रुपमा नकारात्मकतातिर गइरहेको छ। डिप्रेशन, तनाव, मुटुको समस्या, क्यान्सरजस्ता रोगहरूबाट प्रायः व्यक्तिहरू पीडित हुनु परेको छ। यसको कारण हाम्रो नकारात्मक जीवन शैली हो।
हाम्रो आफ्नै विश्वासमा परिवर्तन ल्याएर सकारात्मक सोचाइ र आध्यात्मिक भएर मात्रै यो संसारलाई परिवर्तन गर्न सक्छौं।
मनोक्रान्ति शब्द संस्कृतबाट आएको हो। जसको अर्थ हुन्छ मनको क्रान्ति वा आफूमै परिवर्तन। गुरुदेव भन्नुहुन्छ 'हाम्रो विचारले हाम्रो मस्तिष्कलाई परिवर्तन गर्छ, आफ्नो क्षमता र सिर्जनशीलताको क्रान्तिले ५००० वर्ष पुरानो मानव भ्रष्टाचारलाई परिवर्तन गर्न सक्छ। '




